१८ असार — नेपाली कांग्रेसका वरिष्ठ नेताहरूबीच बुधबार राजधानीस्थित नेता विमलेन्द्र निधिको निवासमा अनौपचारिक भेटवार्ता भएको छ। भेटमा नेता विमलेन्द्र निधि, उपसभापति प्रकाशमान सिंह तथा नेता डा. शशांक कोइरालाले समसामयिक राष्ट्रिय राजनीति, पार्टीको आन्तरिक अवस्था र आगामी १५औँ महाधिवेशनको तयारीका विषयमा विस्तृत छलफल गरेका छन्।
छलफलमा सहभागी नेताहरूले कांग्रेसभित्र देखिएका मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्दै आगामी महाधिवेशनलाई पार्टी एकताको आधार बनाइनुपर्नेमा जोड दिएका छन्। उनीहरूको धारणा अनुसार महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई संगठनलाई थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरिनुपर्ने आवश्यकता औँल्याइएको छ।
बैठकमा पार्टीभित्र संस्थापन र इतर समूहबीच देखिएको दूरी कम गर्न नेतृत्वले समावेशी भूमिका निर्वाह गर्नुपर्ने विषय पनि उठेको बताइएको छ। विशेषगरी निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अघि सारेका समन्वय र सहकार्यका प्रस्तावहरूलाई सकारात्मक रूपमा अघि बढाउनुपर्नेमा सहभागी नेताहरूको समान बुझाइ रहेको स्रोतको भनाइ छ।
भेटवार्ताका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न महाधिवेशनमा प्रदेशसभा सम्बन्धी पारित निर्णयबारे पनि चर्चा भएको जनाइएको छ। संघीय शासन प्रणालीसँग सम्बन्धित यस्ता विषयमा राजनीतिक दलहरूले दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर बहस गर्नुपर्ने धारणा नेताहरूले व्यक्त गरेको स्रोतले जनाएको छ।
कांग्रेसको महाधिवेशनलाई लक्षित गर्दै इतर पक्षले सञ्चालन गरिरहेका संगठन विस्तार र कार्यकर्ता भेटघाट कार्यक्रमको पनि समीक्षा गरिएको छ। सातै प्रदेशमा भएका छलफलपछि अब देशव्यापी राष्ट्रिय भेला आयोजना गर्ने तयारीलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने निष्कर्ष बैठकमा निकालिएको बताइएको छ।
यसैबीच, कांग्रेसभित्रको आन्तरिक संवादलाई थप तीव्र बनाउन बिहीबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा शीर्ष नेताहरूको अर्को बैठक बस्ने तयारी गरिएको स्रोतको दाबी छ। उक्त बैठकले राष्ट्रिय भेलाको मिति, तयारी र आगामी राजनीतिक रणनीतिबारे थप निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।
पार्टीभित्र महाधिवेशनको तयारी तीव्र बन्दै जाँदा शीर्ष नेताहरूबीच भएका यस्ता निरन्तर संवादलाई कांग्रेसको आन्तरिक एकता, संगठनात्मक व्यवस्थापन तथा भावी नेतृत्व निर्माणको प्रक्रियासँग जोडेर हेरिएको छ।
