
ललितपुर, १५ कात्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र मान्यताविपरीतका गतिविधि पार्टीलाई स्वीकार्य नहुने बताएका छन् । उनले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारको संरक्षण गर्दै सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले सरकारलाई जवाफदेही बनाउनु र लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यताको रक्षा गर्नु प्रतिपक्षको प्रमुख जिम्मेवारी रहेको बताए ।
कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले सरकारलाई नागरिक अधिकार, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासप्रति जिम्मेवार हुन आग्रह गरे ।
सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनाप्रति पनि थापाले चिन्ता व्यक्त गरेका छन् । सञ्चारगृहमा प्रहरी प्रवेश गर्ने कार्य उचित नभएको उनको भनाइ छ । उक्त घटनाले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको उनले बताएका छन् ।
प्रहरीका तर्फबाट आएका फरकफरक वक्तव्य र प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक गरिएका धारणाले घटनाबारे थप अन्योल सिर्जना गरेको थापाको भनाइ छ । उनले घटनालाई सामान्य वक्तव्य जारी गरेर मात्र टुङ्ग्याउन नहुने भन्दै वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्नेमा जोड दिँदै सभापति थापाले राज्य सञ्चालनमा व्यक्तिगत इच्छा र आदेशलाई कानुनभन्दा माथि राख्ने प्रवृत्ति लोकतन्त्रका लागि स्वीकार्य नहुने बताएका छन् ।
राज्यका निकाय कसैका निजी आदेश पालना गर्ने संस्था नभएको उल्लेख गर्दै उनले संविधान र कानुनअनुसार मात्रै सरकारी निकाय सञ्चालन हुनुपर्ने धारणा राखेका छन् ।
कानुनी शासनमा कसैले पनि कानुनभन्दा माथि रहेर काम गर्न नपाउने भन्दै थापाले सरकारका हरेक गतिविधिमा कानुनी प्रक्रिया, संस्थागत मर्यादा र नागरिक अधिकारको सम्मान अनिवार्य रहेको बताएका छन् ।