
इलाम। चिकित्सा शिक्षा सुधार र विगतमा भएका सम्झौता कार्यान्वयनको मागसहित इलाममा आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। अनसनको चौथो दिन स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई शनिबार जिल्ला अस्पताल इलामको आकस्मिक कक्षमा भर्ना गरिएको हो।
जिल्ला अस्पताल इलामका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमिताभ ठाकुरका अनुसार डा. केसीको रगतमा ग्लुकोजको मात्रा निकै कम भएको छ। आइतबार उनको ग्लुकोज स्तर अत्यन्तै तल झरेको र चिकित्सकीय भाषामा यस अवस्थालाई गम्भीर हाइपोग्लाइसेमिया भनिने उनले बताए।
लामो समयदेखि खाना र पानी त्यागेर अनसन बसेका कारण शरीरले ऊर्जाका लागि बोसो प्रयोग गर्न थालेपछि पिसाबमा एसिटोनको मात्रा पनि अत्यधिक बढेको अस्पतालले जनाएको छ। यसका साथै मुटुको धड्कनमा अनियमितता देखिएको छ। उनको मुटुको गति प्रतिमिनेट ८० देखि १०८ पटकसम्म परिवर्तन भइरहेको छ।

अस्पतालका अनुसार डा. केसीको रक्तचाप १००/६० एमएमएचजी र अक्सिजनको मात्रा ९२ देखि ९६ प्रतिशतको बीचमा छ। स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि आवश्यक उपचार तथा थप व्यवस्थापनका लागि अस्पतालले कोशी प्रदेश स्वास्थ्य मन्त्रालय, विराटनगरलाई पत्राचार गरेको छ।
सरकारलाई दिएको सातदिने अल्टिमेटमको सुनुवाइ नभएपछि डा. केसीले इलामको नारायणस्थानमा अनसन सुरु गरेका हुन्। चिकित्सा शिक्षा क्षेत्रलाई व्यापारिक स्वार्थ र राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने लगायतका विषय समेटेर उनले यसपटक ६ बुँदे माग अघि सारेका छन्।
यसअघि २०७५ सालमा पनि डा. केसीले इलाममै १६औँ अनसन बसेका थिए। त्यतिबेला स्वास्थ्य अवस्था गम्भीर बनेपछि नवौँ दिनमा नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर कायम गर्नुपर्ने माग राख्दै आएका डा. केसीले आफ्ना माग समयमै सम्बोधन नभए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।