
वीरगन्ज, १५ कात्तिक। बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका १४ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
तिघ्राभन्दा माथिल्लो भागमा गोली लागेर गम्भीर घाइते भएका पासवानको वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था गम्भीर रहेकाले आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौंस्थित शिक्षण अस्पताल, महाराजगन्ज पुर्याइएको हो।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले पासवानलाई थप उपचारका लागि काठमाडौं पठाइएको जानकारी दिएका छन्।
शनिबार फेटा गाउँपालिका–३ मा निर्माण सम्पन्न १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयमा विवाद भएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। सोही क्रममा प्रहरीले चलाएको गोली लागेर पासवान घाइते भएका थिए।