
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बनमा परेका नेताहरूलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण मागेको छ ।
श्रेष्ठको अध्यक्षतामा आयोजित एक कार्यक्रममा बागमती प्रदेशका निलम्बित तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई अतिथिका रूपमा आमन्त्रण गरी स्वागत तथा सम्मान गरिएको थियो ।
पार्टीको निर्णयबाट निलम्बित व्यक्तिहरूलाई कार्यक्रममा सहभागी गराउनुका साथै विभिन्न विकास आयोजनाको निरीक्षणका नाममा आयोजनास्थलमा लैजाने कार्यलाई अनुशासन समितिले गम्भीर रूपमा लिएको जनाएको छ ।
पार्टीको निर्णय र अनुशासनविपरीत निलम्बित नेताहरूलाई कार्यक्रममा सहभागी गराउनु पार्टीको मर्यादाविपरीत भएको ठहर गर्दै समितिले अध्यक्ष श्रेष्ठलाई यस्ता गतिविधि आगामी दिनमा नगर्न र नगराउन सचेत गराएको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले सदस्यता निलम्बनमा परेका व्यक्तिहरूलाई पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नगराउन सबै जिल्ला समितिलाई निर्देशनसमेत दिएको छ ।