
कपिलवस्तु। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार प्रहरीले दुई राउन्ड हवाई फायर गरी लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
ब्युरोले दिएको जानकारीअनुसार बाणगंगा नगरपालिका–३ स्थित राजापानी क्षेत्रमा लागुऔषध कारोबार भइरहेको विशेष सूचना पाएपछि भैरहवाबाट प्रहरी टोली खटिएको थियो।
ब्युरोका अनुसार आइतबार उक्त क्षेत्रमा खोजतलास गर्ने क्रममा प्रहरीले शंकास्पद अवस्थामा रहेका दुई जनालाई जाँच गर्न खोजेको थियो। सोही क्रममा उनीहरूले प्रहरीमाथि प्रतिकार गर्न थालेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरिएको ब्युरोले जनाएको छ।
ब्युरोले पक्राउ पर्नेमा बाणगंगा नगरपालिका–११ का ३४ वर्षीय सलाउद्दिन मुसलमान र वडा नम्बर १२ का २८ वर्षीय उमेश थारू रहेको जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट २८.८२० ग्राम खैरो हेरोइन बरामद भएको ब्युरोको भनाइ छ। त्यस्तै, भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद गरिएको ब्युरेले जनाएको छ।
ब्युरेका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा बुझाइएको छ।