१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा अघिल्लो पटकको भन्दा बढी सिट जित्ने गरी तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
उनले हालको राजनीतिक परिप्रेक्ष्यमा कुनै एकल दलले बहुमत ल्याउन कठिन भएको बताउँदै कांग्रेसले बढी सिट जित्न आवश्यक रहेको उल्लेख गरे।
प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै देउवाले पार्टीभित्रका असहमतिहरू छलफलमार्फत समाधान गरी पार्टीलाई थप सशक्त बनाउनुपर्ने धारणा राखे।
“हाम्रो बीचमा केही असहमतिहरू हुन सक्छन्, तर ती सबैलाई छलफलबाट समाधान गर्दै कांग्रेसलाई जीवन्त र गतिशील बनाउनु आवश्यक छ,” उनले भने।
सत्तारुढ गठबन्धनबारे टिप्पणी गर्दै उनले वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरे। सरकारमा कांग्रेस–एमाले मुख्य दलका रूपमा रहे पनि अन्य दलहरूको सहभागिता सकारात्मक रहेको उनले उल्लेख गरे।
“अन्य दलहरू पनि सरकारमा सहभागी हुनु राम्रो पक्ष हो,” उनले थपे।
उनले नेपालको शासन प्रणाली लोकतान्त्रिक र समावेशी भएको बताउँदै लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षी दलहरूको भूमिका पनि अपरिहार्य रहने बताए।
