काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारतमा विद्युत बिक्री गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। केही जलविद्युत आयोजना बाढीका कारण प्रभावित हुँदा निर्यातमा असर परे पनि विद्युत बिक्रीबाट भएको कारोबार रकम अघिल्लो वर्षको असोज र चालु आवको भदौभन्दा बढी रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात गरिएको थियो। उक्त विद्युत बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
गत वर्षको असोजमा भारततर्फ विद्युत बिक्रीबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ प्राप्त भएको थियो। त्यस्तै, चालु आवको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। यस हिसाबले गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा ९६ करोड २० लाख रुपैयाँ र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँ बढी कारोबार भएको छ।
चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म तीन महिनामा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ।
दुई माध्यमबाट भारतमा विद्युत बिक्री
प्राधिकरणले भारतको हरियाणा र बिहार राज्यसँग भएका द्विपक्षीय विद्युत बिक्री सम्झौताअन्तर्गत ती क्षेत्रमा बिजुली उपलब्ध गराउँदै आएको छ। सम्झौताबाहेकको विद्युत भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धात्मक दरमा बिक्री गरिन्छ।
असोजमा भारततर्फ निर्यात गरिएको विद्युतमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअन्तर्गत बिक्री भएको थियो भने बाँकी हिस्सा ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको प्राधिकरणले जनाएको छ।
नेपालले आन्तरिक माग पूरा गरेपछि बचत हुने वर्षायामको विद्युत भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हरियाणा र बिहारसँगको मध्यकालीन सम्झौताअनुसार जुनदेखि अक्टोबरसम्म विद्युत बिक्री हुँदै आएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति पाएका केही जलविद्युत आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत बिक्रीबाट हुने कारोबार बढेको बताएका छन्।
बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात पुनः सुरु
बाढीका कारण रोकिएको बंगलादेशतर्फको ४० मेगावाट विद्युत निर्यात पनि पुनः सञ्चालनमा आएको छ। भारतको प्रसारण प्रणाली प्रयोग गरेर हुँदै आएको निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरु भएको प्राधिकरणले जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको हिमबाढीपछि त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याएको थियो। त्यसपछि विद्युत निर्यात रोकिएको थियो।
भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य आयोजनाको विद्युत बंगलादेश पठाउन अनुमति प्राप्त भएपछि निर्यात पुनः सञ्चालन गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन्।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे आयोजनाको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा भारतको हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ।
नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते पाँच वर्षका लागि विद्युत निर्यात सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत बंगलादेश पठाउने व्यवस्था छ।
प्राधिकरणले बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट निर्यात जारी राख्न सक्नु र बंगलादेशतर्फको आपूर्ति पुनः सुरु हुनुलाई क्षेत्रीय विद्युत व्यापारका लागि सकारात्मक मानेको छ।
विद्युत निर्यातको स्वीकृत क्षमता १,१७९ मेगावाट पुग्यो
भारतको केन्द्रीय विद्युत प्राधिकरणले थप ३१ मेगावाट विद्युत निर्यात गर्न अनुमति दिएको छ। यससँगै भारततर्फ विद्युत निर्यातका लागि स्वीकृत कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।
निर्यात क्षमता विस्तार र बंगलादेशतर्फको आपूर्ति पुनः सुरु हुँदा वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार व्यवस्थापन तथा क्षेत्रीय ऊर्जा व्यापारलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणले गरेको छ।