सुनसरी, साउन १२ — सुनसरी जिल्लाका केही क्षेत्रमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाइएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार बिहानदेखि कर्फ्यू हटाउने निर्णय गरेसँगै स्थानीय बासिन्दाले सहज रूपमा आवतजावत गर्न थालेका छन् भने बजार, यातायात तथा दैनिक गतिविधिहरू पनि विस्तारै सञ्चालनमा आउन थालेका छन्।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन ११ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यू आदेश साउन १२ गते बिहान १२ः१५ बजेदेखि पूर्ण रूपमा हटाइएको हो।
यसअघि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इनरुवा नगरपालिका–३ र ६ नम्बर वडाको सीमाअन्तर्गत पर्ने महेन्द्र राजमार्गको घोपाली टोलदेखि पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म तथा राजमार्गको उत्तर–दक्षिण २०० मिटर क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको थियो। सम्भावित अप्रिय घटना रोक्न र शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले प्रशासनले कर्फ्यू आदेश जारी गरेको जनाएको थियो।
जिल्ला प्रशासनका अनुसार पछिल्लो अवस्थाको समीक्षा गर्दा सुरक्षा स्थिति नियन्त्रणमा आएको, सार्वजनिक शान्ति कायम भएको तथा जोखिमको अवस्था कम भएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको हो।
प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनामा सर्वसाधारणलाई कानुनको पालना गर्न, सामाजिक सद्भाव कायम राख्न तथा कुनै पनि किसिमका अफवाह वा उक्साहटपूर्ण गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ। स्थानीय प्रशासनले शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको पनि उल्लेख गरेको छ।
कर्फ्यू हटाइएसँगै स्थानीय बासिन्दाले राहतको अनुभूति गरेका छन्। व्यवसायीहरूले व्यापारिक गतिविधि पुनः सञ्चालन गर्न थालेका छन् भने सार्वजनिक तथा निजी सवारीसाधन पनि नियमित रूपमा चल्न थालेका छन्। यद्यपि, सुरक्षा निकायले अवस्था सामान्य रहे पनि आवश्यक सतर्कता कायम राख्दै संवेदनशील क्षेत्रमा निगरानी जारी राखेको जनाएको छ।
प्रशासनले भविष्यमा कुनै पनि प्रकारको कानुनविपरीत गतिविधि भएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने स्पष्ट गर्दै नागरिकलाई जिम्मेवार र संयमित व्यवहार गर्न अपिल गरेको छ।
