बादल राई चितवन , साउन २ गते। लगातार भइरहेको वर्षा र बाढी–पहिरोको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले आज (शनिबार) राति १०:०० बजेदेखि अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा चल्ने सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनाअनुसार धादिङसहित छिमेकी जिल्लाहरू तथा चितवनका विभिन्न स्थानमा वर्षा सुरु भइसकेको र मौसमविद्हरूले वर्षा अझै बढ्ने पूर्वानुमान गरेका छन्। रातिको समयमा यात्रा गर्दा बाढी, पहिरो तथा सडक अवरोधका कारण हुन सक्ने सम्भावित दुर्घटना र मानवीय क्षतिलाई न्यून गर्न यो निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार आज राति १०:०० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सञ्चालन हुने सबै सार्वजनिक तथा निजी सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको हुनेछ। अत्यावश्यक अवस्थाबाहेक यात्रुहरूलाई रातिको यात्रा नगर्न पनि आग्रह गरिएको छ।
जिल्ला सुरक्षा समिति, चितवनले यात्रु तथा सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै मौसम सामान्य नभएसम्म प्रशासनको निर्णयलाई सहयोग गर्न अनुरोध गरेको छ। साथै, कुनै पनि आपतकालीन अवस्था, उद्धार वा आवश्यक समन्वयका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
सम्पर्क नम्बरहरू:
- नेपाल प्रहरी : १००
- सशस्त्र प्रहरी बल नेपाल : ११४४
- जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC) : १२३४
- जिल्ला प्रहरी कार्यालय, चितवन (सूचना अधिकारी) : ९८५५०१३९९९
प्रशासनले सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन, अनावश्यक यात्रा नगर्न तथा जोखिमयुक्त क्षेत्रबाट सतर्क रहन विशेष अनुरोध गरेको छ।
