काठमाडौं – हालै राजधानीमा भएको राजावादी आन्दोलनका क्रममा देखिएको अराजकता र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति नदिइने गृहमन्त्री रमेश लेखकले स्पष्ट पारेका छन्।
संघीय संसद् अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री लेखकले आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति र सुरक्षाकर्मीमाथि भएको आक्रमणलाई सरकारले गम्भीर रूपमा लिएको बताए। उनले भने, “यो कुनै सामान्य विरोध प्रदर्शन थिएन, यसमा नियोजित रूपमा अराजकता फैलाउने काम गरिएको छ। आयोजक को थिए र कसरी यो घटना भयो भन्ने कुराहरू पहिचान भइसकेको छ।”
गृहमन्त्रीले ती घटनालाई केवल राजनीतिक विरोधका रूपमा व्याख्या गर्न खोजिएको प्रयासप्रति असन्तुष्टि जनाउँदै त्यस्तो दृष्टिकोण गलत हुने बताए। “यदि हामीले यसलाई राजनीतिक कोणबाट हेरेर न्यायिक आयोगजस्तो प्रक्रियामा लैजाने हो भने सत्य छायामा पर्न सक्छ,” उनले चेतावनी दिए।
उनले तीन्कुने घटनाको निष्पक्ष र पारदर्शी अनुसन्धान भइरहेको जानकारी दिए। “प्राथमिक अनुसन्धानले देखाएको छ कि घटनामा आपराधिक मनसाय देखिएको छ, त्यसैले कानूनी प्रक्रिया अनुसार दोषीमाथि कडा कारबाही हुनेछ,” उनले थपे।
सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले आन्दोलनका नाममा अराजकता फैलाउनेलाई राजनीतिक आवरण दिनु नहुने धारणा राखे। “लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई छ, तर त्यो अधिकारको दुरुपयोग गरेर हिंसा र तोडफोड गर्नु कसैको पनि हक होइन,” उनले स्पष्ट गरे।
सरकारले शान्ति, सुरक्षा र कानूनी शासनलाई कायम राख्न प्रतिबद्ध रहेको भन्दै गृहमन्त्रीले अपराधमा संलग्न जो-कोहीलाई कानूनी दायरामा ल्याउने दृढता व्यक्त गरे।
यो घटनाको निष्पक्ष छानबिनसँगै सरकारले भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक सबै कदम चाल्ने संकेतसमेत उनले दिए।
