
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
आजको खेलमा दुवै टोली जित हासिल गर्ने उद्देश्यसहित मैदानमा उत्रिनेछन् ।
हरमित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्समा इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली र अनिलकुमार साहजस्ता खेलाडी छन् । त्यस्तै, ललितनारायण राजवंशी, रित गौतम र आशुतोष पाण्डे पनि टोलीमा रहेका छन् ।
यता कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा एभेन्जर्समा शाकिब अल हसन, महेदी हसन, चमिका करुणारत्ने र धनञ्जय लक्षान समावेश छन् । सागर ढकाल, अर्जुन घर्ती र अर्जुन कुमाल पनि पोखराको टोलीमा छन् ।
यसअघि शनिबार सम्पन्न खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो ।
वर्षाले प्रभावित उक्त खेल पाँच ओभरमा सीमित गरिएको थियो । विराटनगरले पहिले ब्याटिङ गर्दै दुई विकेटको क्षतिमा १०५ रन बनाएको थियो । जवाफमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।
शनिबार नै चितवन राइनोज र लुम्बिनी लायन्सबीच तय भएको अर्को खेल भने वर्षाका कारण रद्द भएको थियो ।