लन्डन, — बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनलाई रुसको आक्रमणबाट जोगाउन तथा युद्ध अन्त्य गर्न चारसूत्रीय योजना सार्वजनिक गरेका छन्। फ्रान्स, बेलायत र अन्य युरोपेली देशहरूले गठबन्धन निर्माण गर्ने र अमेरिकालाई समेत त्यसमा समावेश गर्ने योजना रहेको उनले बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र १८ युरोपेली देशका नेताहरूको सहभागितामा सम्पन्न उच्चस्तरीय बैठकपछि स्टेइमरले युरोप इतिहासकै महत्त्वपूर्ण मोडमा रहेको बताए। उनले युरोपेली राष्ट्रहरूबीच हालसम्मकै अभूतपूर्व एकता देखिएको उल्लेख गरे।
बैठकमा युक्रेनलाई निरन्तर सैन्य सहायता प्रदान गर्ने तथा रुसमाथि आर्थिक दबाब बढाउने सहमति भएको छ। साथै, युक्रेनको दीर्घकालीन सुरक्षा प्रत्याभूति सुनिश्चित गर्न र यसको सार्वभौमिकताको रक्षा गर्न विशेष ध्यान दिने प्रतिबद्धता जनाइएको छ। युरोपेली राष्ट्रहरूले युक्रेनको सुरक्षा संयन्त्रलाई अझ बलियो बनाउने र भविष्यमा सम्भावित जोखिम न्यूनीकरणका लागि ‘इच्छुक राष्ट्रहरूको गठबन्धन’ निर्माण गर्ने निर्णय गरेका छन्।
यसैबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको छलफलमा तनाव उत्पन्न भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलायती प्रधानमन्त्री स्टेइमरसँग भेटवार्ता गरेका थिए। लन्डनस्थित डाउनिङ स्ट्रिटमा भएको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ।
बेलायत, फ्रान्स, युरोपेली संघका अन्य देशहरू तथा अमेरिका सम्मिलित यो पहलले युक्रेनको रक्षा तथा स्थायित्वलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की, खनिज सम्झौता भाँडियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भेन्स र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा शुक्रबार राति तनावपूर्ण वार्ता भएको छ। वार्ताका क्रममा विवाद चर्किँदै गएपछि ट्रम्प र जेलेन्स्कीबीच सार्वजनिक रूपमा तिक्ततापूर्ण संवाद भयो।
वार्ताको असहज सुरूआत
जेलेन्स्की राति १० बजे ह्वाइट हाउस पुगेका थिए, जहाँ ट्रम्प उनलाई स्वागत गर्न ढोकासम्म आएका थिए। सुरुवाती वातावरण सामान्य देखिए पनि वार्ताको क्रममा मतभेद उत्पन्न भयो। ट्रम्पले जेलेन्स्कीलाई “राम्रोसँग तयार भएर आएका रहेछन्” भन्दै व्यंग्य गरेपछि स्थिति थप असहज बन्दै गयो।
युद्धको विषयमा कडा मतभेद
वार्ताको क्रममा जेलेन्स्कीले ट्रम्पलाई रुस-युक्रेन युद्धका तस्वीरहरू देखाउँदै युक्रेनको कठिन परिस्थितिबारे बुझाउने प्रयास गरे। तर, उपराष्ट्रपति भेन्सले हस्तक्षेप गर्दै युक्रेनले कूटनीतिक समाधान खोज्नुपर्ने धारणा राखे।
जेलेन्स्कीले “रुसी राष्ट्रपति पुटिनसँग कुनै सम्झौता हुन सक्दैन” भनेपछि ट्रम्पले झन् कडा प्रतिक्रिया दिए। उनले भने, “हामी चाहन्छौँ यो युद्ध चाँडो सकियोस्। तर, तपाईं तेस्रो विश्वयुद्धको जुवा खेलिरहेका हुनुहुन्छ।”

खनिज सम्झौतामा असहमति
वार्ताको प्रमुख विषय दुर्लभ खनिजहरूको सम्झौता थियो। अमेरिका युक्रेनसँग यी खनिजको आपूर्ति चाहन्थ्यो, तर युक्रेनले सुरक्षा ग्यारेन्टीबिना सम्झौता गर्न अस्वीकार गर्यो। ट्रम्पले लगातार दबाब दिएको भए पनि सहमति हुन सकेन, जसले वार्ता थप तनावग्रस्त बनायो।
ट्रम्प-जेलेन्स्कीबीच वादविवाद
वार्ताको क्रममा ट्रम्पले भने, “तपाईं युद्ध हारिरहनु भएको छ। हाम्रो समर्थनबिना तपाईं टिक्न सक्नुहुन्न।”
यसपछि जेलेन्स्कीले अमेरिकी समर्थनको प्रशंसा गरे तापनि युद्धको दीर्घकालीन समाधानको लागि सुरक्षा प्रत्याभूति आवश्यक रहेको बताए। तर, ट्रम्पले उनलाई बारम्बार बीचमै रोक्दै भने, “हामीले तपाईंलाई ३५० अर्ब डलर सहायता दिएका छौँ, त्यसबिना तपाईं दुई हप्तासम्म पनि टिक्न सक्नुहुन्नथ्यो।”

वार्ता बिना निष्कर्ष टुंगियो
लगातारको विवादपछि ट्रम्पले “तिमी शान्तिका लागि तयार भएपछि मात्र फर्किएर आऊ” भन्दै वार्ता अन्त्य गरे। जेलेन्स्की ह्वाइट हाउसबाट बाहिरिएर लन्डनतर्फ लागे।
युरोपेली समर्थन
वार्तापछि युरोपका प्रमुख राष्ट्रहरू—फ्रान्स, जर्मनी, बेलायत लगायतले जेलेन्स्कीलाई समर्थन जनाएका छन्। बेलायतमा जेलेन्स्कीले अमेरिकी सहयोगका लागि धन्यवाद दिए पनि सुरक्षा प्रत्याभूति बिना कुनै सम्झौता अस्वीकार्य हुने बताए।
यो घटनाले अमेरिका-युक्रेन सम्बन्धमा नयाँ मोड ल्याएको छ भने युरोपेली राष्ट्रहरू युक्रेनको पक्षमा अझ मजबूतीसाथ उभिन सक्ने आँकलन गरिएको छ।
