
नारायणगढ । चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको जलविरे झरनानजिक कार दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको छ।
बुधबार दिउँसो झरना अवलोकन गरेर फर्कँदै गरेको डब्लुबी ०२ एपी ३४५८ नम्बरको भारतीय कार अनियन्त्रित भएर खोलामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवन प्रहरीका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार दुर्घटनामा परेका एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको साथबाट भारतको पश्चिम बङ्गालस्थित कालिम्पोङको ठेगाना उल्लेख भएको ४१ वर्षीय सायन्तन गायेनको नाममा जारी राहदानी फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको समयमा कारमा एक जना मात्रै सवार रहेको खुलेको छ।
मृतकको पहिचान यकिन गर्ने तथा दुर्घटना हुनुको कारण पत्ता लगाउने उद्देश्यले प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।