
१८ कात्तिक, रौतहट । रौतहट प्रहरीले ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले इशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपाल प्रवेश गर्दै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा ३० लाख रुपैयाँ फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो करिब ३ः३० बजे मठिया महुलिया प्रहरी चौकीबाट खटिएको टोलीले मोटरसाइकल रोकेर जाँच गर्दा उक्त रकम बरामद गरेको थियो। त्यसक्रममा मोटरसाइकल चालक भारतको बिहारस्थित पूर्वी चम्पारणका ३० वर्षीय सनीकुमार जैसवाल पक्राउ परेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा जैसवालले उक्त रकम गौर नगरपालिका–१ मा रहेको न्यू तराई ट्रेडर्सका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई बुझाउन ल्याएको खुलेको जनाइएको छ।
त्यसपछि प्रहरी टोलीले उक्त पसलमा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ भेटिएको थियो। प्रहरीले पसल सञ्चालक कमरुललाई पनि नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार दुवै स्थानबाट गरी कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको छ। रकमको स्रोत र घटनाबारे दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।