
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारका पछिल्ला निर्णय र गतिविधिबारे जनतालाई स्पष्ट जानकारी गराउन माग गरेका छन्। प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनदेखि सरकारी अधिकारीहरूको पक्राउ र पुनः जिम्मेवारीमा फर्काउने घटनासम्म सरकारले पारदर्शी जवाफ दिनुपर्ने उनको भनाइ छ।
राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए। उनले मुलुकमा लोकतन्त्रको नाममा सर्वसत्तावादी प्रवृत्ति हाबी हुन खोजेको टिप्पणी गरे।
उनका अनुसार पछिल्लो समय विधि, नियम र कानुनी प्रक्रियाभन्दा पनि आदेश तथा तत्कालीन परिस्थितिका आधारमा राज्य सञ्चालन भइरहेको देखिन्छ। यस्तो अवस्थाले लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने भन्दै उनले सरकारका निर्णयहरूबारे नागरिकलाई यथार्थ जानकारी दिनुपर्ने बताए।
लिङ्देनले प्रहरी नेतृत्व परिवर्तन, सरकारी अधिकारीहरूको गिरफ्तारी तथा पुनर्बहालीजस्ता विषयमा सरकारले आफ्नो निर्णयको आधार सार्वजनिक गर्नुपर्ने उल्लेख गरे। त्यस्तै, सुनकोशी–मरिन डाइभर्सन आयोजनाको १६ अर्ब रुपैयाँको ठेक्का प्रक्रिया रोक्नुको कारण र त्यसबाट राज्यलाई भएको लाभबारे पनि सरकारले जवाफ दिनुपर्ने उनको माग छ।
राजनीति, प्रशासन, व्यापार तथा न्यायिक क्षेत्रका विभिन्न व्यक्तिहरू बिचौलियाको प्रभावमा रहेको आफ्नो विगतको विश्लेषण अहिलेका घटनाक्रमले पुष्टि गर्दै गएको लिङ्देनले दाबी गरे। वर्तमान सरकारले पनि विगतमा देखिएका गलत राजनीतिक तथा प्रशासनिक अभ्यासलाई निरन्तरता दिएको उनको आरोप थियो।
कार्यक्रममा उनले मुलुकलाई सम्भावित राजनीतिक संकटबाट जोगाउन राप्रपाको भूमिका बलियो हुनुपर्ने धारणा राखे। आगामी दिनमा देशको नेतृत्व गर्ने अवसरका लागि पार्टी तयार रहनुपर्ने भन्दै उनले नेता तथा कार्यकर्तालाई निराश नभई उच्च मनोबलका साथ संगठन निर्माणमा जुट्न निर्देशन दिए।
लिङ्देनले आगामी राजनीतिक परिस्थितिमा राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने दाबी गर्दै पार्टीलाई थप सशक्त बनाउन सबै नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिए।