
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी डा. मनोज केसीलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णयप्रति नागरिक समूहले असन्तुष्टि जनाएको छ ।
समूहका अध्यक्ष विष्णुहरि दाहालले बुधबार विज्ञप्ति जारी गर्दै प्रहरी नेतृत्व परिवर्तनको निर्णयको औचित्य र कानुनी आधार सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
विज्ञप्तिमा प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेर सामान्य प्रशासनिक विषय मात्र नभएको उल्लेख गर्दै प्रहरी सङ्गठनलाई राजनीतिक स्वार्थअनुसार सञ्चालन गर्ने प्रवृत्ति रोक्न सरकारलाई आग्रह गरिएको छ ।
कार्कीलाई हटाउनुपर्ने कारण, उनीमाथि कुनै गम्भीर आरोप वा कारबाहीको आधार भए त्यसको विवरण सार्वजनिक गर्नुपर्ने समूहको माग छ ।
प्रहरी सङ्गठन कुनै प्रधानमन्त्री वा गृहमन्त्रीको निजी निकाय नभएको उल्लेख गर्दै समूहले नेतृत्व चयन कानुनी प्रक्रिया र संस्थागत आवश्यकताका आधारमा हुनुपर्ने जनाएको छ ।
सरकार परिवर्तनसँगै सुरक्षा निकायको नेतृत्व फेरबदल गर्ने प्रवृत्तिले प्रहरी कर्मचारीको मनोबल र व्यावसायिक क्षमतामा असर पुग्ने समूहको भनाइ छ । यस्तो हस्तक्षेपले निष्पक्ष अनुसन्धान र कानुनी शासनसमेत कमजोर बनाउन सक्ने चेतावनी दिइएको छ ।
समूहले प्रहरी नेतृत्व परिवर्तनको निर्णयको आधार स्पष्ट पार्न, नियुक्ति तथा जिम्मेवारी हेरफेरको कानुनी प्रक्रिया सार्वजनिक गर्न र प्रहरी सङ्गठनको व्यावसायिक स्वायत्तता कायम राख्न सरकारको ध्यानाकर्षण गराएको छ ।