काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष तथा १५औँ महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने गतिविधिप्रति आपत्ति जनाउँदै त्यसलाई सुनियोजित प्रचार र षड्यन्त्रको संज्ञा दिएको छ ।
महामन्त्री प्रदीप पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार लोकतान्त्रिक विधिबाट सम्पन्न महाधिवेशनबारे भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन् ।
कांग्रेसले यस्ता गतिविधिले पार्टीका सदस्य तथा शुभेच्छुकको विश्वास कमजोर पार्न नसक्ने दाबी गरेको छ । साथै, पार्टी र नेतृत्वविरुद्ध आधारहीन विषय उठाएर कृत्रिम विवाद सिर्जना गर्न खोजिएको आरोप लगाएको छ ।
सरकारका गतिविधिमाथि प्रतिपक्षका रूपमा प्रश्न उठाउँदा त्यसलाई दबाउन विभिन्न प्रयास भइरहेको कांग्रेसको जिकिर छ ।


पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई यस्ता प्रचारबाट प्रभावित नभई जनसरोकार, विधिको शासन र नागरिक स्वतन्त्रताको पक्षमा निरन्तर उभिन आग्रह गरेको छ ।