
बारा । बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच भएको विवादले शनिबार हिंसात्मक रूप लिएको छ। झडपका क्रममा अस्पताल परिसरमा तोडफोड हुनुका साथै १० वटा मोटरसाइकलमा आगजनी गरिएको छ। प्रहरीले चलाएको गोली लागेर एक किशोर घाइते भएका छन् भने ढुंगामुढाबाट पाँच प्रहरी घाइते भएका छन्।
प्रहरीका अनुसार फेटा गाउँपालिका–३ निवासी १५ वर्षीय आदित्य पासवानको तिघ्रामा गोली लागेको छ। घाइते पासवानको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालले जानकारी दिएका छन्।
के थियो विवादको कारण ?
फेटा गाउँपालिकामा निर्माण सम्पन्न भएको १५ शय्याको अस्पताल उद्घाटन तथा पालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको थियो। उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य समीक्षा बास्कोटा सहभागी हुन आएकी थिइन्।
बास्कोटा यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिइन्। सोही पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि पछि रास्वपामा समाहित भएका थिए।
अस्पताल निर्माणको सुरुवात आफ्नो कार्यकालमा भएको भन्दै एमालेका स्थानीय नेता तथा निवर्तमान गाउँपालिका अध्यक्ष अमिरीलाल साह कानुले उद्घाटन कार्यक्रमप्रति असहमति जनाएका थिए। अस्पतालको शिलालेखमा रहेको नाम हटाउनुपर्ने र उद्घाटन कार्यक्रम रोक्नुपर्ने विषयमा विवाद उत्पन्न भएको प्रशासनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार स्थानीय एमाले नेताहरूले कार्यक्रम हुनुभन्दा दुई दिनअघि नै उद्घाटन रोक्ने चेतावनी दिएका थिए। यस विषयमा प्रशासनलाई पूर्वजानकारीसमेत गराइएको थियो।
विरोध प्रदर्शनपछि झडप र आगजनी
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार उद्घाटन कार्यक्रमलाई अवरोध गर्ने चेतावनीबारे प्रशासनलाई पहिल्यै जानकारी प्राप्त भएको थियो।
मधेश प्रदेश प्रहरीका प्रवक्ता ढकालका अनुसार निवर्तमान गाउँपालिका अध्यक्षको नेतृत्वमा आएका करिब २५० जनाको समूहले कार्यक्रमस्थलमा आक्रमण गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।
प्रदर्शनका क्रममा अस्पताल परिसरमा रहेको शिलालेख र उद्घाटनका लागि तयार पारिएको टेन्टमा तोडफोड गरिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारी थप आक्रोशित बनेका थिए।
त्यसक्रममा अस्पताल परिसरमा पार्किङ गरिएका १० वटा मोटरसाइकलमा आगजनी गरिएको प्रहरीले जनाएको छ। अस्पतालभित्र रहेका १० जना स्वास्थ्यकर्मी तथा केही सुरक्षाकर्मीलाई प्रहरीले उद्धार गरेको थियो।
शिक्षकको राजनीतिक संलग्नताबारे प्रशासनको चासो
उक्त विरोध प्रदर्शनको नेतृत्वमा स्थानीय शिक्षक लालबाबु साहसमेत रहेको प्रशासनले जनाएको छ। साह जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार शिक्षक साह राजनीतिक गतिविधिमा संलग्न भएको विषयमा दुई दिनअघि नै शिक्षा विकास तथा समन्वय इकाइ बारालाई जानकारी गराइएको थियो।
अनुसन्धान जारी, हालसम्म पक्राउ परेका छैनन्
घटनापछि जिल्ला प्रशासन कार्यालय बाराले सुरक्षा अवस्था र घटनाको विवरणबारे छलफल गरिरहेको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा थप विवरण संकलन गर्ने काम जारी रहे पनि हालसम्म कसैलाई पक्राउ नगरिएको प्रशासनले जनाएको छ।
अस्पताल उद्घाटनका क्रममा भएको विवादले हिंसात्मक रूप लिएपछि स्थानीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।