चालकको मृत्यु

मकवानपुर । डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा मकवानपुरमा चालकको मृत्यु भएको छ ।
शुक्रबार साँझ करिब ७ः३० बजे बकैया गाउँपालिका–५ स्थित तिनतल्ले फास्ट ट्र्याक नजिक मदन भण्डारी लोकमार्गमा ट्याङ्कर दुर्घटनामा परेको हो ।
हेटौंडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको ना.६ ख २९४९ नम्बरको डिजेल लोड ट्याङ्कर सडकको बायाँ किनारमा पल्टिएको थियो । दुर्घटनापछि चालक ट्याङ्करभित्रै च्यापिएका थिए ।
घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी गरगरेबाट टोली घटनास्थल पुगेको थियो । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरसहित इलाका प्रहरी कार्यालय पशुपतिनगर र फापरबारीबाट समेत प्रहरी परिचालन गरिएको थियो ।
प्रहरीका अनुसार राति करिब १० बजे ट्याङ्करभित्र फसेका चालकलाई बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो ।
मृत्यु हुनेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ निवासी करिब ४० वर्षीय रमेशकुमार रायमाझी रहेको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि हेटौंडा अस्पताल पठाइएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।