नेपाली विद्यार्थीका विषयमा छलफल

काठमाडौं, १० कात्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच उच्च शिक्षामा सहकार्य बढाउने तथा साइप्रसमा रहेका नेपाली विद्यार्थीका हितबारे छलफल भएको छ।
मङ्गलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–साइप्रस सम्बन्ध, पारस्परिक हित र शैक्षिक सहकार्यका सम्भावनाबारे कुराकानी भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।
भेटका क्रममा मन्त्री पोखरेलले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउने र विदेशी शैक्षिक संस्थाबाट प्राप्त प्रमाणपत्रको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रिया सहज बनाउन मन्त्रालयले काम गरिरहेको जानकारी गराएका थिए।
उनले त्रिभुवन विश्वविद्यालयमार्फत हुँदै आएको शैक्षिक उपाधिको समकक्षता निर्धारणसम्बन्धी काम अहिले विश्वविद्यालय अनुदान आयोगबाट भइरहेको पनि स्पष्ट पारेका थिए।
समकक्षता निर्धारण प्रक्रियालाई थप व्यवस्थित र सहज बनाउन आवश्यक नीतिगत सुधारका प्रयास भइरहेको जानकारीसमेत मन्त्रीले भेटका क्रममा गराएको सचिवालयले उल्लेख गरेको छ।
दुई पक्षबीचको छलफलमा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको अवस्था र उनीहरूको हितसँग सम्बन्धित विषयले पनि स्थान पाएको जनाइएको छ।