
काठमाडौँ । सरकारले विभिन्न मुलुकका लागि प्रस्ताव गरेका १० जना राजदूतको नाम सम्बन्धित देशमा सहमतिका लागि पठाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दसैँअघि नै एग्रिमोका लागि पत्र पठाइएको भए पनि हालसम्म कुनै पनि मुलुकबाट औपचारिक स्वीकृति प्राप्त भएको छैन।
सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ। नियुक्तिपछि राजदूतहरू कार्यभार सम्हाल्न सम्बन्धित मुलुक जानेछन्।
सरकारले विज्ञापनमार्फत छनोट गरेर १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। तीमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको हो।
अनुमोदित राजदूतहरूको सूची
१. भारत: डा. निश्चलराज पाण्डे
२. चीन: डा. कल्याणराज शर्मा
३. अमेरिका: चिरनजंग थापा
४. बेलायत: गौरवशमशेर जबरा
५. इजरायल: सुरेश कर्ण
६. दक्षिण कोरिया: डा. संगम श्रेष्ठ
७. स्पेन: प्राप्ति शेरचन
८. श्रीलंका: डा. मञ्चला झा
९. जर्मनी: सरु जोशी
१०. ओमान: डा. पद्याक्षी राणा
यसअघि सिफारिस गरिएका १३ जनामध्ये साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत भएको थियो। जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाका सम्बन्धमा भने संसदीय सुनुवाइ समितिले थप अध्ययन गर्ने जनाएको छ।
नयाँ राजदूत सिफारिसको तयारी
सरकारले थप नौ देशका लागि राजदूत नियुक्त गर्ने प्रक्रिया पनि अघि बढाएको छ। राजदूत पद रिक्त रहेका वा कार्यकाल सकिएका मुलुकमा नयाँ नियुक्तिको तयारी गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
नयाँ राजदूत नियुक्तिको तयारी भइरहेका देशहरू:
१. रसिया
२. अस्ट्रेलिया
३. ओमान
४. स्पेन
५. बंगलादेश
६. ब्राजिल
७. म्यानमार
८. बहराइन
९. इजिप्ट
यीमध्ये रसिया, अस्ट्रेलिया, ओमान र स्पेनमा राजदूत पद रिक्त भइसकेको छ। बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टमा भने सरकारले हाल कार्यरत राजदूतहरूको म्याद अर्को व्यवस्था नभएसम्मका लागि थप गरेको छ।
म्याद थप गरिएका राजदूतहरूको सूची
- बंगलादेश: घनश्याम भण्डारी
- ब्राजिल: निर्मलराज काफ्ले
- म्यानमार: हरिश्चन्द्र घिमिरे
- बहराइन: तीर्थराज वाग्ले
- इजिप्ट: सुशील लम्साल