कबिराज निरिक्षक दिलिप कुमार झाको विशेष पहलमा सञ्चालित शिविरमा विशेषज्ञ उपचार, नि:शुल्क औषधि, पञ्चकर्म सेवा र योग थेरापी प्रदान
रौतहट, असार २० — ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित दुर्गा भगवती गाउँपालिकाले सञ्चालन गरेको नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट ७७५ जना सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। गाउँपालिकाको आयोजनामा तथा आधारभूत अस्पताल पिपरामा कार्यरत आयुर्वेद चिकित्सक कबिराज निरिक्षक दिलिप कुमार झा को विशेष पहल, समन्वय र सक्रियतामा सञ्चालन भएको शिविरले स्थानीय नागरिकलाई आफ्नै पालिकाभित्र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको हो।
गाउँपालिकाका विभिन्न वडाबाट आएका सेवाग्राहीलाई आयुर्वेद विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, रोग पहिचान, उपचार, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराइएको थियो। शिविरमा विशेषगरी नियमित उपचारबाट वञ्चित, आर्थिक रूपमा विपन्न तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

शिविरमा सर्ने तथा नसर्ने रोगहरूको विस्तृत परीक्षण गरी रोगको प्रकृतिअनुसार आयुर्वेदिक उपचार गरिएको थियो। ज्वरो, रुघाखोकी, पेट तथा पाचन प्रणालीका समस्या, मधुमेह, उच्च रक्तचाप, छालासम्बन्धी समस्या, ग्यास्ट्रिक, हाडजोर्नी दुखाइ, कम्मर तथा घुँडाको पीडा, नसासम्बन्धी समस्या लगायतका बिरामीहरूको परीक्षण गरी आवश्यक औषधि वितरण गरिएको थियो।

महिला स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्दै स्तनपान गराइरहेका आमाहरूलाई दुग्धवर्धक आयुर्वेदिक औषधि उपलब्ध गराइएको थियो। त्यसैगरी ज्येष्ठ नागरिकलाई रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने तथा शरीरलाई स्फूर्त राख्न सहयोग गर्ने रसायन औषधि प्रदान गरिएको थियो।
हाडजोर्नी तथा नसासम्बन्धी समस्याबाट पीडित बिरामीहरूका लागि पञ्चकर्म तथा पूर्वकर्म उपचार सेवा सञ्चालन गरिएको थियो। यसबाट लामो समयदेखि जोर्नी दुखाइ, मांसपेशीको समस्या तथा नसासम्बन्धी पीडाबाट ग्रसित धेरै सेवाग्राहीले प्रत्यक्ष लाभ लिएको जनाइएको छ।
उपचार सेवासँगै शिविरमा स्वास्थ्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको थियो। सहभागीहरूलाई आयुर्वेदिक जीवनशैली, सन्तुलित आहार, दैनिक योगाभ्यास, नियमित व्यायाम तथा रोगबाट बच्ने उपायबारे चिकित्सकहरूले विस्तृत जानकारी दिएका थिए। रोगको प्रकृति र बिरामीको स्वास्थ्य अवस्थाअनुसार योग थेरापीसमेत प्रदान गरिएको थियो, जसले औषधिसँगै स्वस्थ जीवनशैली अपनाउने संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
शिविरप्रति स्थानीय नागरिकको उत्साहजनक सहभागिता देखिएको थियो। आफ्नै गाउँपालिकामा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, उपचार, औषधि तथा परामर्श सेवा नि:शुल्क प्राप्त गर्न पाउँदा सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन्। विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका नागरिकका लागि यस्तो कार्यक्रम प्रभावकारी र राहतदायी बनेको उनीहरूको भनाइ थियो।

गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै आधुनिक चिकित्सा सेवासँगै आयुर्वेदिक स्वास्थ्य प्रणालीलाई पनि सुदृढ बनाउने नीति लिएको जनाएको छ। यस्ता स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै गाउँ–गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गरिने प्रतिबद्धता गाउँपालिकाले व्यक्त गरेको छ।
आधारभूत अस्पताल पिपरामा कार्यरत आयुर्वेद कबिराज निरिक्षक दिलिप कुमार झा ले आयुर्वेद उपचार प्रणालीले रोगको उपचारसँगै स्वस्थ जीवनशैली विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता शिविरले ग्रामीण समुदायमा स्वास्थ्य सचेतना बढाउनुका साथै समयमै रोग पहिचान र उपचारमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे।
दुर्गा भगवती गाउँपालिकाले “स्वस्थ नागरिक, समृद्ध दुर्गा भगवती” भन्ने मूल नारालाई आत्मसात गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार, रोगको रोकथाम र जनस्वास्थ्य प्रवर्द्धनका

कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ। स्थानीय तहको यस्तो सक्रियताले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुनुका साथै नागरिकको जीवनस्तर सुधारमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।
