
रौतहट, ७ कात्तिक। आफ्नै गाउँका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. जितनारायण यादवले रौतहटको राजदेवी नगरपालिका–१ पथरामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।
कात्तिक ७ गते बिहानदेखि सुरु भएको शिविरमा मुटुरोगसहित दाँत तथा मुखसम्बन्धी समस्या भएका बिरामीले स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श र उपचार सेवा पाएका छन्। आफ्नै जन्मभूमिका नागरिकलाई स्वास्थ्य सेवामार्फत सहयोग गर्ने उद्देश्यले डा. यादवले व्यक्तिगत पहलमा शिविर आयोजना गरेका हुन्।
शिविरमा डा. यादवले मुटुसम्बन्धी समस्या भएका बिरामीको जाँच तथा उपचार परामर्श दिएका थिए। त्यस्तै, दन्तरोग विशेषज्ञ डा. नेहा गुप्ता र डा. दीक्षा यादवले दाँत तथा मुखको समस्या भएका बिरामीलाई निःशुल्क सेवा प्रदान गरेका थिए। स्वास्थ्यकर्मी दिनेश साहसहितको टोलीले बिरामीको प्रारम्भिक परीक्षण र औषधि वितरणमा सहयोग गरेको थियो।
आफ्नै गाउँमा अनुभवी विशेषज्ञ चिकित्सकबाट सेवा पाइने भएपछि बिहानैदेखि शिविरमा स्थानीयको चाप बढेको थियो। विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवार र ज्येष्ठ नागरिकलाई टाढाका अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्न शिविर उपयोगी बनेको स्थानीयले बताएका छन्।
गाउँमै स्वास्थ्य परीक्षण, परामर्श, उपचार तथा औषधि पाउँदा सेवाग्राहीले खुसी व्यक्त गरेका थिए। उनीहरूले डा. यादवसहित शिविरमा खटिएको स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद दिएका छन्।
ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने यस्ता पहलले विपन्न समुदायलाई प्रत्यक्ष लाभ पुर्याउनुका साथै जन्मभूमिप्रतिको सामाजिक उत्तरदायित्व र सेवाभावलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।