
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा जारी बजेट विवाद अन्त्यका लागि नेपाली कांग्रेस संसदीय दलले सर्तसहित छलफलमा बस्ने जनाएको छ ।
धनगढीमा बसेको संसदीय दलको बैठकले कर्मचारीको तलब र अस्पताल सञ्चालनजस्ता अत्यावश्यक खर्च मात्र कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरी प्रदेशसभालाई जानकारी गराएपछि मात्रै वार्तामा सहभागी हुने निष्कर्ष निकालेको हो ।
संसदीय दलका नेता कमलबहादुर शाहले सरकारले अत्यावश्यकबाहेक अन्य बजेट कार्यक्रम कार्यान्वयन नगर्ने निर्णय गरे संवादका लागि तयार रहेको बताए ।
उनले माग सम्बोधन नभएसम्म बजेटसम्बन्धी प्रक्रियामा सहभागी नहुने स्पष्ट पार्दै प्रदेशसभाको बैठक तत्काल बोलाउन सभामुखसँग आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।
यसअघि गत असोज २६ गते प्रतिपक्षी दलको बहिष्कारबीच प्रदेशसभाको बहुमतबाट बजेट पारित भएको थियो । मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारले ल्याएको बजेटलाई लिएर उत्पन्न विवादका कारण प्रदेशसभाको कामकारबाही प्रभावित हुँदै आएको छ ।