सबै स्थानीय तहमा पत्राचार

काठमाडौं । सरकारले पूर्वराजा वीरेन्द्र शाह, रानी ऐश्वर्य र उनीहरूको परिवारको नाममा रहेको चल तथा अचल सम्पत्तिको विवरण संकलन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि संघीय सरकारले देशभरका गाउँपालिका तथा नगरपालिकालाई पत्राचार गर्दै सम्पत्ति खोजबिनमा सहयोग गर्न आग्रह गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयअन्तर्गतको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई पत्र पठाएर पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको नाममा रहेको सम्पत्तिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।
पत्रमा नेपाल ट्रष्ट ऐन, नेपाल ट्रष्ट नियमावली २०६४ तथा सम्पत्ति खोजबिन कार्यविधि २०६७ अनुसार सम्पत्ति पहिचान र अभिलेखीकरणको काम अघि बढाइएको उल्लेख छ।
पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूको परिवारको नाममा रहेको वा उनीहरूको हक, स्वामित्व अथवा भोगाधिकार कायम हुन सक्ने नेपालभित्रका सम्पत्तिको खोजी गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
जग्गासम्बन्धी अभिलेख उपलब्ध गराउन निर्देशन
संघीय मामिला मन्त्रालयका शाखा अधिकृत प्रकाश पन्थीले सबै स्थानीय तहलाई पत्र पठाउँदै सम्बन्धित सम्पत्तिको विवरण नेपाल ट्रष्टको कार्यालयमा उपलब्ध गराउन आग्रह गरेका छन्।
स्थानीय तहसँग पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेका जग्गाका जग्गाधनी प्रमाणपुर्जा, जग्गाधनी दर्ता स्रेस्ता, फिल्डबुक तथा अन्य सम्बन्धित कागजात माग गरिएको छ।
सम्पत्ति खोजबिन र अभिलेखीकरणका लागि आवश्यक विवरण संकलन गरी नेपाल ट्रष्टको कार्यालयमा पठाउन मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको हो।
नेपाल ट्रष्टको पहलमा खोजबिन प्रक्रिया
नेपाल ट्रष्टको कार्यालय कमलादीले गत कात्तिक ९ गते यस विषयमा छलफल गरी सम्पत्ति खोजबिनका लागि आवश्यक सहजीकरण गर्न भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयलाई पत्र पठाएको थियो।
नेपाल ट्रष्टको आग्रहपछि संघीय मामिला मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको हो।
पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको नाममा रहेको वा उनीहरूको स्वामित्व तथा भोगाधिकार हुन सक्ने सम्पत्तिको पहिचान गरी अभिलेख तयार पार्ने उद्देश्यले सरकारले यो प्रक्रिया अघि बढाएको जनाएको छ।