सल्यान । सल्यानका दुई छुट्टाछुट्टै स्थानमा शुक्रबार राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
सिद्ध कुमाखमा तीन जनाको मृत्यु
सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा श्रीनगरबाट टाकुरतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खस्दा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका कृष्णी बस्नेत (४२), सीता विक (४५) र साउने रोका (४३) को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अन्य सात जना घाइते भएका थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि दाङ तथा नेपालगन्ज पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बनगाड कुपिण्डेमा बोलेरो दुर्घटना, १२ घाइते
त्यस्तै, बनगाड कुपिण्डे नगरपालिका–११ गरामा खलंगा–बालुवा संग्राही सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
चौरबाट बालुवा संग्राहीतर्फ आउँदै गरेको रा.१ च १७२३ नम्बरको डबल क्याब बोलेरो सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा चालक अम्मरबहादुर घर्तीसहित दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । अन्य घाइतेमध्ये केहीलाई सुर्खेत र नेपालगन्ज रिफर गरिएको छ भने बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुवै दुर्घटनामा परी कुल तीन जनाको मृत्यु र १९ जना घाइते भएका छन् । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।