
सिरहा, १० कात्तिक । सिरहाको गोलबजार नगरपालिकामा राजस्व संकलन र ठेक्का व्यवस्थापनमा अनियमितता गरेको आरोपमा तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वनगरप्रमुख तेली, तत्कालीन उपप्रमुख रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादवलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार ठेक्कासम्बन्धी विवाद समाधानका नाममा रकमको लेनदेन, सम्झौता नगरी अग्रिम राजस्व संकलन तथा उठाउनुपर्ने राजस्व असुल नगरेको लगायतका विषयमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिकाका वडा नम्बर ६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुद्री हाटबजार सञ्चालनबाट राजस्व उठाउने जिम्मेवारी ठेकेदार यादवलाई अमानतमा दिइएको पाइएको आयोगले जनाएको छ।
तर, नगर कार्यपालिकाको निर्णय र प्रचलित कानुनविपरीत कर छुट दिइएको तथा राजस्व संकलनमा अनियमितता भएको आयोगको निष्कर्ष छ। नगरसभाबाट मात्रै निर्णय गर्न सकिने कर छुटसम्बन्धी अधिकार प्रयोग गर्दै ७३ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिइएको आरोपपत्रमा उल्लेख छ।
त्यसैगरी, अमानतबाट संकलन गर्नुपर्ने राजस्व ठेकेदारलाई जिम्मा लगाइएको र ठेकेदारबाट उठाउनुपर्ने रकमसमेत असुल नगर्दा सरकारी सम्पत्तिमा क्षति पुगेको आयोगको दाबी छ।
कसको नाममा कति बिगो?
आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साह तेली, उपप्रमुख रेशमकुमारी थापा र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीविरुद्ध जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरेको छ। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गरिएको छ।
त्यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो र राजस्व शाखा प्रमुख दिनेश कुमार सहनीविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो कायम गरिएको आयोगले जनाएको छ।
ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध भने १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरिएको छ। भ्रष्टाचारबाट लाभ लिएको र गैरकानुनी कार्यमा संलग्न रहेको आरोपमा उनीमाथि पनि कानुनबमोजिम सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।
मुद्दा दायर भएसँगै प्रतिवादीहरूमाथि लगाइएका आरोपको अन्तिम निरूपण अदालतबाट हुनेछ।