
काठमाडौं, १० कात्तिक । काठमाडौं उपत्यकामा शान्तिसुरक्षा कायम गर्ने र आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानमा ७५ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो २४ घण्टामा राजधानीका विभिन्न क्षेत्रमा चलाइएको ‘स्वीप अपरेसन’का क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा ६० पुरुष, १४ महिला र अन्य एक जना रहेको प्रहरीले जनाएको छ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार सार्वजनिकस्थलमा हुने अवाञ्छित गतिविधि रोक्न र नागरिकको सुरक्षालाई प्रभावकारी बनाउन विशेष प्रहरी टोली परिचालन गरिएको थियो।
अभियानका क्रममा सार्वजनिक स्थान, यातायातका साधन तथा सरकारी र सार्वजनिक सेवा दिने कार्यालय आसपासका क्षेत्रमा निगरानी बढाइएको थियो। सर्वसाधारणको बाक्लो आवतजावत हुने स्थानलाई प्राथमिकतामा राखेर प्रहरीले जाँच तथा नियन्त्रणको काम गरेको जनाएको छ।
प्रहरीका अनुसार सार्वजनिक यातायात र भीडभाडयुक्त क्षेत्रमा झैझगडा गर्ने, होहल्ला मच्चाउने, सर्वसाधारणलाई दुःख दिने, चोरी तथा लुटपाट गर्ने, बिचौलियाका रूपमा गतिविधि सञ्चालन गर्ने र गुण्डागर्दीमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई पक्राउ गरिएको हो।
यसै क्रममा अदालतबाट दोषी ठहर भई सजाय तोकिएका आठ जना र विभिन्न मुद्दामा अनुसन्धान तथा कानुनी प्रक्रियाका क्रममा फरार रहेका चार जना प्रतिवादी पनि पक्राउ परेका छन्। यसरी अदालतको सजाय र फरार मुद्दासँग सम्बन्धित गरी १२ जनालाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ।
प्रहरीले सार्वजनिकस्थलमा हुने गैरकानुनी गतिविधि रोक्ने, फरार व्यक्तिको खोजी गर्ने र नागरिकलाई सुरक्षित रूपमा दैनिक कामकाज गर्न सहज वातावरण बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको स्पष्ट पारेको छ।
पक्राउ परेका व्यक्तिहरूको संलग्नता र उनीहरूमाथि लागेका आरोपबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।