
सुनसरी, ८ कात्तिक । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र राखिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार मृतक भारतको बनारस घर भएका लालजीप्रसाद गुप्ता हुन्। उनी लामो समयदेखि नेपालमा बस्दै आएका थिए र पछिल्लो समय विराटनगर महानगरपालिका–६ मा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।
स्थानीयवासीले खोलामा फालिएको बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनापछि प्रहरी उपरीक्षक मल्लसहितको टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार गुप्ता चार दशकभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए। उनको मृत्युको कारण र घटनामा संलग्न व्यक्तिबारे भने अहिलेसम्म स्पष्ट भइसकेको छैन।
घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।