काठमाडौँ । शुक्र अस्त भएकाले यस वर्ष दसैँ मनाउन नमिल्ने भन्ने चर्चा शास्त्रसम्मत नभएको नेपाल पञ्चांग निर्णायक विकास समितिले स्पष्ट पारेको छ। समितिले सामाजिक सञ्जालमा फैलिएका यस्ता भ्रामक प्रचारमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार शारदीय नवरात्र आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म हो। त्यसैले शुक्र वा बृहस्पति अस्त भएको अवस्थाले दसैँ तथा नवरात्रका नियमित धार्मिक विधि सम्पन्न गर्न बाधा नपुग्ने उनले बताएका छन्।
शास्त्रीय मान्यताअनुसार शुक्र र बृहस्पति अस्त भएका बेला नियमित तथा नैमित्तिक धार्मिक कर्म गर्न रोक छैन। तर कुनै विशेष फल प्राप्त गर्ने उद्देश्यले गरिने कामनाकर्म भने यस्तो अवस्थामा गर्न नहुने व्यवस्था रहेको समितिले जनाएको छ।
धार्मिक विषयमा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनाका आधारमा निष्कर्षमा नपुग्न पनि समितिले आग्रह गरेको छ। यस्ता विषयमा अन्योल भए धर्मशास्त्रका जानकार, धर्मशास्त्रविद् तथा समितिका पदाधिकारीसँग परामर्श लिन सुझाव दिइएको छ।
समितिले स्वीकृति दिएका पात्रोअनुसार शुक्र ग्रह असोज २८ गते बुधबार दिउँसो १ बजेर ४० मिनेटमा पश्चिम दिशामा अस्त भएको हो। उक्त ग्रह कात्तिक ११ गते बुधबार राति १२ बजेर ४९ मिनेटमा उदय हुने उल्लेख छ।