रौतहट, २८ असोज। चन्द्रपुर नगरपालिका–८ मोतीपुरमा स्कुलबसको ठक्करबाट दुई वर्षीया बालिकाको ज्यान गएको छ। घरअगाडि सडक छेउमा खेलिरहेकी महिमा चौधरीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान करिब १०ः५५ बजे सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीको बसले बालिकालाई ठक्कर दिएको थियो। ठक्करबाट टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी सत्यनारायण थापाले जानकारी दिए।
घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालिकाको शव परीक्षणका लागि चन्द्रपुर सरकारी अस्पताल पठाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी वसन्त गौतमका अनुसार बस र चालक चन्द्रपुर नगरपालिका–४ निवासी ४५ वर्षीय कान्छा राईलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।