प्रमाणपत्र रोक्ने निर्णय
काठमाडौं, २७ असोज। नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदकी उम्मेदवार विनीता खड्काको नाम पार्टीले सार्वजनिक गरेको निर्वाचित हुनेहरूको अन्तिम सूचीमा समावेश गरेको छैन। केयर गिभरका रूपमा इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा उनी पक्राउ परेपछि पार्टीले यस्तो कदम चालेको हो।

पार्टीका उच्च स्रोतका अनुसार खड्काले निर्वाचनमा जित हासिल गरेको भए पनि अन्तिम सूचीमा उनको नाम राखिएको छैन। उनीमाथि लागेको आरोपको निरुपण नभएसम्म निर्वाचित भएको प्रमाणपत्र उपलब्ध नगराउने पार्टीको तयारी रहेको एक पदाधिकारीले बताएका छन्।
ती पदाधिकारीका अनुसार कानुनी प्रक्रियामा रहेर आफ्नो मुद्दा लड्न पाउने अधिकार भए पनि अभियोगको सामना गरिरहेको अवस्थामा पार्टीको केन्द्रीय कार्यसमितिमा रहेर जिम्मेवारी निर्वाह गर्ने विषय फरक रहेको छ।
कांग्रेसको निर्वाचन आयोगसँग सम्बन्धित नेताहरूले पनि आरोपमा मुछिएका उम्मेदवारहरू विजयी भए पनि तत्काल प्रमाणपत्र नदिने नीति अपनाइएको बताएका छन्।
खड्कामाथि लागेको आरोपबारे कानुनी प्रक्रिया र अन्तिम निर्णयबाट पुष्टि हुन बाँकी रहेको छ।