वीरगञ्ज, २६ असोज । पर्साको वीरगञ्ज महानगरपालिका–२२ बहुअरीस्थित धानखेतबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा सोमबार दिउँसो करिब २ः३० बजे उक्त हतियार फेला पारेको हो।

प्रहरीका अनुसार बहुअरीबाट भवानीपुरतर्फ जाने सार्वजनिक सडकको पूर्वपट्टि रहेको धानखेतमा प्लास्टिकको बोराले बेरेर लुकाइएको अवस्थामा १२ बोरको एकनाले भरुवा बन्दुक बरामद गरिएको थियो।
बेवारिसे अवस्थामा फेला परेको बन्दुक कसले र के उद्देश्यले त्यहाँ लुकाएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।