जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत
काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निरन्तरता पाएका हुन्।
महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि निर्वाचन भएको थियो। अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको भए पनि पार्टीको विधानमा उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले अध्यक्ष पदमा पनि मतदान गरिएको थियो।
उपाध्यक्ष पदमा अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजयकुमार यादव र माधवप्रसाद सिंह निर्वाचित भएका छन्। उपाध्यक्षका लागि ११ जनाबीच प्रतिस्पर्धा भएको थियो।
यसैगरी, महासचिव पदमा सञ्जयकुमार यादव निर्वाचित भएका छन्। उनले ६१८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी ममता झाले २२० तथा चन्दनकुमार सिंहले १६५ मत पाए। दुवै उम्मेदवारले पार्टीले तोकेको २० प्रतिशत मतको सीमा पूरा गर्न नसकेको जनाइएको छ।
उपमहासचिवमा निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत प्राप्त गरे।
सचिव पदमा भने सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्। सात सचिव पदका लागि नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।
निर्वाचनमा वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साह भने सचिव पदमा निर्वाचित हुन सकेनन्।
