धनगढी — कैलालीको भजनीमा अवैध सामान नियन्त्रणमा लिन खोज्दा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
भजनी नगरपालिका–३ ठेकीपुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्ने क्रममा प्रहरी र उनीहरूबीच विवाद भएको थियो। सोही क्रममा प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउँद र गम्भीर साउँद छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार उनीहरूले इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशीमाथि कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते भएका दुवै प्रहरीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
प्रहरीले अवैध सामान ओसारपसारमा प्रयोग भएको भनिएका से ४ प ११७१ र सु.प.प्र. ०१–०११ प ६४१ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।