१५ कात्तिक, काठमाडौं । नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर (शुल्क) संकलन गरिने भएको छ ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनबाट वर्गअनुसार शुल्क लिने जनाएको हो ।
सडक बोर्ड नेपालको कार्यकारी समितिले गत १२ असोजमा गरेको निर्णय र २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा शुल्क संकलन प्रक्रिया अघि बढाइएको आयोजनाले स्पष्ट पारेको छ ।
आयोजनाका अनुसार वर्ग १ मा पर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
त्यस्तै, वर्ग २ अन्तर्गतका मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिने क्रममा ८० रुपैयाँ तिर्नुपर्नेछ ।
वर्ग ३ मा पर्ने बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यसैगरी, वर्ग ४ अन्तर्गतका मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ सडक उपभोग दस्तुर तिर्नुपर्ने आयोजनाले जनाएको छ ।
सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार शुल्क बुझाउनुपर्नेछ ।