सिरहामा २५ हजार ५०० रुपैयाँका नक्कली नोटसहित दुई जना पक्राउ

सिरहा, १४ कात्तिक । सिरहा प्रहरीले नक्कली नेपाली रुपैयाँको कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २५ हजार ५०० रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार राति करिब ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकबाट शिव चोकतर्फ जाने हुलाकी सडकखण्डमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–६ निवासी ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मिया रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ५०० रुपैयाँ दरका तीन थान र एक हजार रुपैयाँ दरका २४ थान नोट फेला पारेको जनाएको छ। बरामद भएका नोटको कुल संख्या २७ थान रहेको छ।
पक्राउ परेका दुवै जनालाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।