
काठमाडौं । चक्रवात ‘अर्णव’को अवशेषस्वरूप विकसित न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न भागमा भइरहेको वर्षा तथा हिमपात दिउँसोपछि क्रमशः घट्ने र मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय क्षेत्र हाल पश्चिम नेपाल आसपास केन्द्रित रहेकाले देशका विभिन्न प्रदेशमा वर्षा र हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा मध्यम वर्षासँगै हिमपात भइरहेको छ । त्यस्तै, मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसममा आएको यो परिवर्तन न्यून चापीय क्षेत्रको प्रभावसँग सम्बन्धित रहेको जनाइएको छ । यद्यपि, अपराह्नपछि वर्षा र हिमपातको क्रम कमजोर हुँदै मौसम क्रमशः सुधार हुने अपेक्षा गरिएको छ ।