
काठमाडौँ, १३ कात्तिक। दुग्ध विकास संस्थान (डीडीसी) मा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमहाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको छ।
संस्थानमा आर्थिक हिनामिना गरी गैरकानुनी लाभ लिएको आरोपमा सीआईबीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार डीडीसीका तत्कालीन महाप्रबन्धकदेखि प्रशासनिक तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा अन्य कर्मचारीबीच मिलेमतो भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। योजनाबद्ध रूपमा आपसी सहकार्य गरी संस्थानलाई आर्थिक क्षति पुर्याइएको भन्ने उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा संस्थानलाई नोक्सानी पुर्याएर १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको गैरकानुनी आर्थिक लाभ लिएको प्रारम्भिक निष्कर्ष निकालिएको सीआईबीले जनाएको छ।
पक्राउ परेका आठ जना
१. सञ्जीव झा — तत्कालीन महाप्रबन्धक
२. विजयकुमार यादव
३. मनहरी शर्मा
४. रामकेवल राय
५. जितेन्द्रकुमार यादव
६. नवीन राय यादव
७. शिवनन्दन राय
८. विखबहादुर भण्डारी
सीआईबीले मुलुकी अपराध संहिता, २०७४ मा व्यवस्था गरिएको आपराधिक विश्वासघात तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनीहरूलाई कात्तिक १३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
प्रहरी अनुसन्धान जारी रहेकाले आरोपितहरूको कसुर अदालतबाट प्रमाणित हुन बाँकी छ।