परवानीपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
शुक्रबार दिउँसो नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्यांकर, विद्युतीय हाइस र मोटरसाइकलबीच ठक्कर भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ गइरहेको ना.४ ख २३४९ नम्बरको डिजेल ट्यांकरमा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस ठोक्किएको थियो। त्यसलगत्तै हाइसको पछाडिबाट आइरहेको अनटेस्ट मोटरसाइकल पनि दुर्घटनामा परेको थियो।
दुर्घटनामा ट्यांकर चालक जितपुरसिमरा–१६ पिलुवाका ५० वर्षीय चेतनाथ खरेल र हाइस चालक पोखरा महानगरपालिका–५ का ३८ वर्षीय आशिष मल्लसहित १० जना घाइते भएका छन्।
घाइते हुने अन्यमा वीरगञ्ज महानगरपालिका–२ की ४५ वर्षीया समिना खातुन र उनकी करिब २५ वर्षीया छोरी सकिना खातुन, जितपुरसिमराकी २२ वर्षीया आशिका श्रेष्ठ, पोखरा–१८ साराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री, भारतको बिहारस्थित पूर्वी चम्पारणका ७० वर्षीय नवल किशोर साह, प्रसौनी गाउँपालिका–२ बाराका २४ वर्षीय कुनिल पण्डित कुम्हार, भारतको पश्चिम बंगालस्थित हुग्लीकी २६ वर्षीया साबनी दास र मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१६ सुनसरीका २४ वर्षीय सरोज गुभाजु रहेका छन्।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीका अनुसार दुर्घटनामा घाइते भएकाहरूको अवस्था सामान्य छ। उनीहरूको अमलेखगञ्जस्थित अक्कलबहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ।