
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचार प्रकाशनको विषयलाई आधार बनाएर पत्रकारलाई पक्राउ गर्ने र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुग्ने गतिविधिप्रति असन्तुष्टि जनाएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रहरीको यस्तो कार्यशैली तत्काल रोक्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिइएको तथा नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेको घटनालाई उल्लेख गर्दै परियारले प्रहरीको व्यवहारलाई ‘पुलिस स्टेट’ अर्थात् प्रहरी शासनतर्फ उन्मुख प्रवृत्तिको संज्ञा दिएका छन्।
संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको रक्षा गर्नु सरकारको जिम्मेवारी भए पनि पछिल्ला घटनामा देखिएको प्रहरीको कार्यशैली लोकतान्त्रिक शासन व्यवस्थाको मूल्य र मान्यतासँग मेल नखाने उनको टिप्पणी छ।
नयाँ पत्रिकाको कार्यालयमा प्रहरी पुगेको घटनालाई उनले ‘जंगे शैली’ भन्दै यसलाई सामान्य रूपमा लिन नहुने बताएका छन्। बिदाको पूर्वसन्ध्यामा भएका यस्ता गतिविधिबारे सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने उनको माग छ।
सचेतक परियारले पत्रकारिता क्षेत्रसँग सम्बन्धित विवाद तथा समाचार सामग्रीका विषयलाई प्रहरीमार्फत समाधान खोज्नुको सट्टा प्रेस काउन्सिल नेपालबाट निरुपण गर्ने व्यवस्था र अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
उनले प्रेस स्वतन्त्रतामाथि असर पार्ने गतिविधि बन्द गरी सञ्चारमाध्यमलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।