
काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई प्रहरीले नियन्त्रणमा लिने तथा खोजी गर्ने क्रम बढेको छ। शुक्रबार डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बस्नेतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट फोन गरी बोलाइएको थियो। सुरुमा ईसेवा स्क्यामसम्बन्धी विषयमा छलफल गर्नुपर्ने भन्दै कार्यालयमा उपस्थित हुन भनिएको र पछि उनलाई साँझसम्म त्यहीँ बस्नुपर्ने जानकारी दिइएको त्यहाँ कार्यरत एक पत्रकारले बताएका छन्।
यसअघि नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। समाचारमा प्रकाशित विषयमा छलफल गर्नुपर्ने भन्दै सुवेदीलाई प्रहरी कार्यालय लगिएको नेपाल प्रेसले जनाएको छ।
त्यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी टोली उक्त सञ्चारमाध्यमको कार्यालय पुगेको बताइएको छ।
मोटिभेट न्युजका पत्रकार शोबराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी, दियो पोस्ट अनलाइनका पत्रकार सुदीप विश्वकर्मा र मदन ढुंगानाको खोजी गर्दै प्रहरी टोली उक्त सञ्चारमाध्यमको कार्यालयमा पुगेको जनाइएको छ।
समाचारमा प्रकाशित विषयलाई लिएर पत्रकारहरूलाई नियन्त्रणमा लिने तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुग्ने घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे चिन्ता बढाएको छ।