
१३ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले प्रहरी नियन्त्रणमा रहेका पत्रकार विश्वमणि सुवेदी र शोभराज बराललाई तत्काल रिहा गर्न माग गरेको छ। महासंघले समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने कार्यप्रति आपत्ति जनाउँदै सरकारसँग सार्वजनिक रूपमा माफी माग्नसमेत आग्रह गरेको छ।
महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष रमेश वाग्लेले शुक्रबार विज्ञप्ति जारी गर्दै पत्रकार पक्राउ गर्ने घटनाको विरोध गरेका हुन्। उनले बिना अनुमति सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्।
विज्ञप्तिमा पक्राउ परेका पत्रकारलाई नियन्त्रणमा लिँदा आवश्यक कानुनी प्रक्रिया र नियन्त्रण पुर्जीसमेत उपलब्ध नगराइएको उल्लेख गरिएको छ। समाचारमा प्रकाशित विषयलाई लिएर पत्रकारमाथि यस्तो व्यवहार गर्नु संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको महासंघको भनाइ छ।
महासंघले लोकतान्त्रिक व्यवस्थामा सरकारबाटै प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने खालका गतिविधि हुनु गम्भीर विषय भएको जनाएको छ। यस्तो कार्यले विगतको निरंकुश शासनको झल्को दिएको भन्दै संगठनले घटनाको कडा शब्दमा निन्दा गरेको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पार्दै महासंघले यस्ता कदम नरोकिए थप सशक्त विरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिएको छ।
त्यस्तै, प्रेस स्वतन्त्रताको पक्षमा एकजुट हुन प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, पत्रकारसम्बद्ध संगठन तथा विभिन्न पेसागत संस्थालाई महासंघ प्रतिष्ठान प्रदेशले आह्वान गरेको छ।