
काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) को गतिविधि अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।
मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनामार्फत राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) अनुसार संगठनलाई निलम्बन गर्ने निर्णय भएको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार एन-प्याब्सनले ऐनको दफा ५ अन्तर्गत मन्त्रालयबाट जारी भएका निर्देशनहरू पटक–पटक उल्लंघन गरेको पाइएको छ। साथै, संगठनका पदाधिकारीबाट सरकारद्वारा स्वीकृत विधान र संस्थाको निर्धारित उद्देश्यसँग मेल नखाने गतिविधि भएको मन्त्रालयको निष्कर्ष छ।
यसअघि २०८३ असोज २३ गते मन्त्रालयले सम्बन्धित पक्षहरूसँग छलफल गरेको थियो। उक्त छलफलमा राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न संगठनलाई आग्रह गरिएको थियो। तर, निर्देशन कार्यान्वयन नभएको मन्त्रालयले जनाएको छ।
निर्देशनको निरन्तर अवज्ञा भएको भन्दै मन्त्रालयले एन-प्याब्सनलाई निलम्बन गर्ने निर्णय गरेको हो।
मन्त्रालयले जारी गरेको सूचनामा निलम्बनपछि संगठनको नाममा कुनै समूह वा गुटले गतिविधि सञ्चालन गर्न नपाउने स्पष्ट पारिएको छ। त्यस्ता गतिविधि गैरकानुनी हुने जनाउँदै मन्त्रालयले संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।