
पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्ट बनेका मतदाता र उनीहरूका परिवारसँग पुनः सम्बन्ध स्थापित गर्न देशव्यापी संवाद अभियान आवश्यक रहेको बताएका छन्। पार्टीभित्रको प्रतिस्पर्धाका कारण उत्पन्न मनमुटाव हटाउँदै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
मङ्गलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै थापाले पार्टीको आन्तरिक निर्वाचनलाई जित्ने र हार्नेबीचको स्थायी विभाजनका रूपमा लिन नहुने बताए। प्रतिस्पर्धामा पछि परेका योग्य नेताकार्यकर्तालाई पनि उचित स्थान दिएर अघि बढाउनुपर्ने उनको भनाइ थियो।
उनले कांग्रेसभित्रका गुटगत विभाजनसँगै नेताकार्यकर्ताबीचको व्यक्तिगत तिक्तता पनि अन्त्य गर्नुपर्ने बताए। पार्टीभित्र सहकार्य र सहअस्तित्वको वातावरण बनाउन नसके जनतासँगको सम्बन्धसमेत कमजोर हुने उनको धारणा थियो।
कांग्रेसमा युवा र ज्येष्ठ पुस्ताका सदस्य एकैसाथ सक्रिय रहनुलाई अवसरका रूपमा व्याख्या गर्दै थापाले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई एकीकृत गर्नुपर्ने बताए। उनका अनुसार अहिलेको जनसांख्यिक अवस्थालाई ध्यानमा राखेर पार्टीले पुस्तागत ज्ञान र क्षमताको सदुपयोग गर्न आवश्यक छ।
टाढिएका मतदातासँग घरदैलोमै संवादको प्रस्ताव
पछिल्ला निर्वाचनमा कांग्रेसलाई मत नदिएका परम्परागत समर्थक र उनीहरूका परिवारसँग संवाद गर्न सभापति थापाले प्रस्ताव गरेका छन्। उनका अनुसार पार्टीबाट टाढिएका दुई लाखभन्दा बढी मतदातासम्म पुग्ने गरी मङ्सिर महिनाभर देशभरका वडा र टोलमा अभियान सञ्चालन गर्नुपर्छ।
मतदाताले आफ्नो इच्छाअनुसार मतदान गर्न पाउने अधिकारलाई सम्मान गर्दै उनीहरूको असन्तुष्टि र गुनासो बुझ्नुपर्ने थापाले बताए। पार्टीले मतदातालाई दोष दिनुभन्दा उनीहरूकै घरमा पुगेर कुरा सुन्ने र उठेका प्रश्नको जवाफ दिने अभ्यास गर्नुपर्ने उनको भनाइ थियो।
कमजोरी स्वीकारेर सुशासनमा ध्यान दिनुपर्ने
थापाले कांग्रेसले विगतका कमजोरीको समीक्षा गर्दै सुशासन र सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्यालाई स्वीकार गर्नुपर्ने बताए। सत्ता प्राप्तिलाई मात्र प्राथमिकता दिने प्रवृत्ति पार्टीको कमजोरी रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्यको संरक्षणसँगै जनताले अनुभूति गर्ने परिणाम दिनुपर्ने आवश्यकता औँल्याए।
नेताहरू जनताबाट टाढिँदै गएको अवस्थाप्रति पनि उनले चिन्ता व्यक्त गरे। पार्टीभित्र देखिने तडकभडक र जनतासँग दूरी बढाउने व्यवहार त्यागेर सामान्य नागरिकसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
थापाका अनुसार कांग्रेसले आन्तरिक एकता मजबुत बनाउने, असन्तुष्ट मतदाताको कुरा सुन्ने र जनताका समस्याको समाधानमा केन्द्रित हुने गरी आफ्नो कार्यशैली परिवर्तन गर्न आवश्यक छ।