
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफ्नो ७४औँ स्थापना दिवसका अवसरमा देशका विभिन्न जिल्लामा सामाजिक तथा रचनात्मक गतिविधि सञ्चालन गरेको छ।
मङ्गलबार स्थापना दिवस मनाउने क्रममा देशका करिब ३५ जिल्लामा रक्तदान, अस्पतालका बिरामीलाई फलफूल वितरण, खेलकुद प्रतियोगिता तथा मन्दिर सरसफाइजस्ता कार्यक्रम आयोजना गरिएको तरुण दलले जनाएको छ।
काठमाडौँस्थित सङ्कटा मन्दिर परिसरमा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै तरुण दलका अध्यक्ष मनिष कोइरालाले संगठनलाई युवाका मुद्दा उठाउने र जनतासँग प्रत्यक्ष जोडिने संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
युवापुस्तालाई संस्कृति र परम्परासँग नजिक ल्याउने उद्देश्यले मन्दिर सरसफाइ अभियानलाई नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको उनले बताए। बाँके, वीरगञ्ज र धादिङलगायतका जिल्लामा पनि यस्ता गतिविधि सक्रिय रूपमा अघि बढाइएको उनको भनाइ छ।
स्थापना दिवसका अवसरमा रक्तदान, फलफूल वितरण, फुटबल प्रतियोगिता र सरसफाइजस्ता कार्यक्रममार्फत सामाजिक सेवामा संगठनको सहभागिता बढाइएको अध्यक्ष कोइरालाले बताए। तरुण दललाई युवाको आवाज बुलन्द गर्ने, समुदायसँग सम्बन्ध विस्तार गर्ने र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने संस्थाका रूपमा विकास गर्ने उनको भनाइ थियो।
अध्यक्ष कोइरालाले बदलिँदो प्रविधिसँगै कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका क्षेत्रमा पनि संगठनले काम गर्ने योजना बनाएको जानकारी दिए। तरुण दलप्रति समाजमा रहेको धारणा परिवर्तन गर्दै सामाजिक रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे।
युवासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले आगामी एक महिनाभित्र छवटा नयाँ कार्यक्रम सार्वजनिक गरिने र त्यसबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिइने अध्यक्ष कोइरालाले बताए।