चितवन, १० कात्तिक । पृथ्वी राजमार्गको चितवनस्थित इच्छाकामना गाउँपालिका–४ धारापानीमा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।
आज बिहान करिब ८ः४५ बजे बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंको मुग्लिनतर्फ गइरहेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस परेका छन् ।
दुर्घटनालगत्तै उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जना सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ ।
घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा पुर्याइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
दुर्घटनाको कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।