काठमाडौं । दसैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध काठमाडौँ उपत्यकामा प्रहरीले निगरानी बढाएको छ। शनिबार मात्रै विभिन्न कसुरमा ४७० सवारीसाधनलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९९ जना कारबाहीमा परेका छन्। तीव्र गतिमा सवारी चलाउने ११५ जना, सीसी क्यामराको निगरानीमा नियम उल्लङ्घन गर्ने ४० जना र ट्राफिक बत्तीको रातो संकेत बेवास्ता गर्ने ३७ जनामाथि पनि कारबाही गरिएको छ।
त्यसैगरी, अनावश्यक हर्न बजाउने नौ जना, लेन अनुशासन उल्लङ्घन गर्ने दुई जना र एकतर्फी सडकमा निषेधविपरीत सवारी चलाउने सात जना कारबाहीमा परेका छन्। अन्य प्रकृतिका ट्राफिक नियम उल्लङ्घनमा १६१ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जानकारी दिएको छ।
चाडपर्वका बेला सवारी आवागमन बढ्ने र नियम उल्लङ्घनबाट दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले ट्राफिक प्रहरीले विशेष निगरानी तथा कारबाहीलाई निरन्तरता दिएको जनाएको छ। प्रहरीले चालकलाई गति नियन्त्रण गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र ट्राफिक संकेत तथा सडक अनुशासन पालना गर्न आग्रह गरेको छ।