‘हुंकार मधेश’ अभियानमार्फत राजनीतिक यात्रा अघि बढाउने घोषणा
काठमाडौं, १८ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टी परित्याग गरेका छन्। उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफ्ना सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन्।
पार्टी छाड्नेमा पूर्वसांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मो. युसुफ साफी, केन्द्रीय निर्वाचन आयोग तथा कानुन विभागका सदस्य घणश्याम शर्मा र पुष्पराज चमन रहेका छन्।
चारै नेताले संयुक्त विज्ञप्तिमार्फत जसपा नेपालबाट अलग भएको जानकारी दिएका हुन्। उनीहरूले अब ‘हुंकार मधेश’ अभियानमार्फत आफ्नो राजनीतिक गतिविधिलाई निरन्तरता दिने घोषणा गरेका छन्।
यसअघि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताले पनि पार्टीबाट अलग भएका थिए। उनीहरूले असोज ९ गते काठमाडौंमा ‘हुंकार मधेश’ नामको नयाँ राजनीतिक अभियान अघि बढाउने घोषणा गरेका थिए।
जसपा नेपालका थप नेताहरू ‘हुंकार मधेश’ अभियानमा जोडिएसँगै मधेश केन्द्रित राजनीतिमा नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिएको छ।

